०५ जेठ, कलैया । सोमबार करैयामाईका एक जना पुरुष संक्रमित थपिएपछि बारामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ पुगेको छ । सोमबार पुष्टि भएका ३८ वर्षीय पुरुष पत्रकार हुन् । बारा जिल्लाको पहिलो संक्रमित जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान हुन् ।
बारामा अब कोरोना संक्रमित व्यक्तिहरुको परीक्षणको दायरा बढेपछि जिल्ला विपत व्यवस्थापन समितिले क्वारेन्टाइनको संख्या दोब्बर बनाउन स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।
यति गर्दा पनि क्वारेन्टाइन बेड अभाव भएमा कुनै पनि सरकारी, सामुदायिक तथा निजी विद्यालय, क्याम्पस, होटल जस्ता भौतिक संरचनालाई उपयोग गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
गंगापुरमा अस्पताल, अपुग भए सिंचाइ कार्यालयमा विस्तार
कोरोना संक्रमित व्यक्तिको उपचार गर्न गंगापुरस्थित शैक्षिक तालिम केन्द्रमा ५० बेडको अस्थायी अस्पताल बनाइने भएको छ । अस्पताल बनाउने प्रक्रियाको नेतृत्व र खर्चको व्यवस्थापन कलैया उपमहानगरपालिकाले नै मिलाउने छ ।
यदि गंगापुरमा बन्ने ५० बेडको अस्पतालले बिरामीको चाप थेग्न नसक्ने अवस्था आएमा सिंचाइ कार्यालयको पुरानो भवनमा पनि अस्पताल बनाइने छ । त्यसका लागि डिजाइन स्टिमेट लगायतका कार्य तीन दिनभित्र पूरा गर्न कलैया उपमहानगर र पूर्वाधार विकास कार्यालयका प्राविधिकलाई समितिले जिम्मा दिएको छ ।
हाल चन्दननाथ गणले उपयोग गरेको सिंचाइ कार्यालयको भवनमा कोरोना अस्पताल बिस्तार गर्दा लाग्ने ५० प्रतिशत खर्च कलैया उपमहानगरपालिकाले र ५० प्रतिशत खर्च सम्बन्धित प्रदेश तथा संघका सांसदहरुले व्यहोर्ने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।
कोरोना अस्पताल नबनिसकेकाले हाल कोरोनाका विरामीहरुलाई कलैया अस्पतालमा राखिएको छ । ती बिरामीहरुलाई गंगापुरस्थित अस्थायी कोरोना अस्पताल बनिसकेपछि कलैया अस्पतालबाट स्थानान्तरण गरिने छ । बिरामी स्थानान्तरण भई खालि भएपछि कलैया अस्पताललाई डिस्इन्फेक्सन गरेपछि मात्र आफ्नो नियमित सेवा सन्चालन गर्न दिने निर्णय विपत व्यवस्थापन समितिले गरेको छ ।
कलैया अस्पतालको सेवा बारा नर्सिङ्ग होमबाट
गंगापुरमा अस्थायी कोरोना अस्पताल निर्माण नभएसम्मका लागि कलैया अस्पतालले प्रदान गर्दै आएका नियमित सेवा कलैया अस्पताल/नारायणी अस्पतालले तोकेको दररेटमा बारा नर्सिङ्ग होमले मिलाउने छ । त्यसको प्रक्रिया अगाडि बढाउन कलैया अस्पताल तथा बारा नर्सिङ्ग होमलाई बैठकले निर्देशनसमेत दिएको प्रजिअ पण्डितले जानकारी दिए ।
गंगापुरस्थित ५० बेडको अस्थायी कोरोना अस्पतालमा काम गर्ने कर्मचारीको व्यवस्थापनका लागि ५० प्रतिशत जनशक्ति कलैया अस्पतालले उपलब्ध गराउने र २५ प्रतिशत जनशक्ति बिभिन्न स्थानीय तहहरुमा कार्यरत जनशक्तिबाट र २५ प्रतिशत जनशक्ति पदपूर्ति गरी खटाउने निर्णय पनि भएको छ ।
प्रजिअ पण्डितका अनुसार बारा जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको स्वाबको नमूना संकलन गर्न हाल दुई जनाको एउटा टोली मात्र छ । त्यसैले कलैया अस्पतालमा तालिम लिएका ३ व्यक्तिहरुमध्ये दुई जनालाई स्थानीय तहमा रहेका ल्याब प्राविधिकहरुलाई तालिम दिने व्यवस्था मिलाउने र संकलन गरिएका स्वाब परीक्षण स्थलसम्म पुर्याउन दुई वटा गाडीको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ ।
परीक्षणको दायरा बढ्दै गएको भन्दै तत्काल १५ सय किट भीटीएम र ५ सय थान आरडीटी किट उपलब्ध गराउन समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश सरकारको कोभिड–१९ सचिवालयसँग माग गरेको छ ।
Source : Online Khabar