५ जेठ, वीरगञ्ज । वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थालेका छन् । सानो पाइला नामक एक सामाजिक संस्थाले अस्पतालमा उपचाररत संक्रमितहरुलाई पोषिलो खाना र खाजा सोमबार बिहानदेखि खुवाउन सुरु गरेको हो ।
अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि उक्त संस्थाले पोषणयुक्त खाना र खाजा खुवाउन सुरु गरेको हो ।
अस्पतालमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी सानो पाइलाले लिएको थियो ।
संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक जना संक्रमित पत्रकारले चाउचाउ खाएर हामी कोरोनासँग लड्दैछौं भनेर स्वास्थ्यमन्त्रीलाई पत्र लेखेको समाचार समेत सार्वजनिक भएको थियो ।
सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले आइसोलेसन कक्षमा रहेका बिरामीहरुलाई खाना र खाजा खुवाउने मौका दिएकोमा सबै प्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।
अधिकृत झाका अनुसार नारायणी अस्पतालमा रहेका ७१ र सिद्धार्थ माविको आइसोलेसन कक्षमा रहेका २५ जना संक्रमितहरुलाई खाना तथा खाजाको व्यवस्था गरिएको हो ।
Source : Online Khabar