१५ असार, कलैया । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ ।जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका , पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, निजगढनगरपालिका लगायतकोमा राष्ट्रिय धान दिवस दही च्यूरा खाएर मनाइँदैछ । यसैगरी जिल्लाको प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गांउपालिका, बिश्रामपुर गाउँपालिका, सुवर्ण गाँउपािलका, देवताल गांउपालिका, आदर्शकोतवाल गांउपालिका, बारागढी गाउँपालिका, करैयामाई गांउपालिका लगायतकोमा दही च्यूरा खाएर राष्ट्रिय धान दिवस मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरु बताउँछन् ।
बारामा राष्ट्रिय धान दिवस दहि च्युरा खाएर मनाईदै ।

तपाईको प्रतिक्रिया