०५ भदौ, कलैया ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व बारामा आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, सुवर्ण गांउपालिका, देवताल गांउपालिका, आर्दशकोतवाल गांउपालिका, बारा गढी गांउपालिका, करैयामाई गांउपालिका, बिश्रामपुर गांउपालिका, फेटा गांउपालिका, प्रसौनी गांउपालिका, परवानीपुर गांउपालिकाका ब्रतालु महिलाहरुले महादेवको पुजाआजा गरी तीज पर्व मनाउदै छन् । कोरोना भाईरसको कारण जिल्लाका महादेव मन्दिरहरु बन्द गरिएका छन् । ब्रतालुहरु आ आफनो घरमा नै महादेवको पुजा आराधना गरी तीज पर्व मनाउदै छन् । विवाहित महिलाले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तिजको दिन निराहार ब्रत बस्ने परम्परा छ ।व्रत गर्ने नारीले अटल सौभाग्य प्राप्त गर्ने जनविश्वाश रहेको छ ।भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्रीमहादेव पति पाउने बरदान पाएकी थिइन् ।तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत भगवना विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।