तिलोत्तमा — रूपन्देहीको सैनामैनाका विशाल भुसाल ग्लोबल अनलाइन सेलेक्सनमार्फत कम्बोडियन क्रिकेट लिगका लागि छनोट भएका छन् । उनी अहिले गौतम बुद्ध क्रिकेट एकेडेमी मुर्गियामा नियमित अभ्यास गरिरहेका छन् ।

‘लकडाउनका कारण भर्चुअल माध्यमदेखि आफ्नो खेलको भिडियो रिपोर्ट पठाएँ,’ उनले भने, ‘तीनपटकको रिपोर्ट हेरेपछि छनोट भएँ ।’ विश्वभरका १ हजार २ सय खेलाडीले भाग लिएको भर्चुअल प्रतिस्पर्धामा नेपालबाट आफू छानिँदा खुसी लागेको उनले सुनाए । पहिलोपल्ट हुन लागेको कम्बोडियन लिग एक महिनासम्म चल्नेछ । प्रतियोगितामा छनोट हुने विशाल नेपालका एकमात्र खेलाडी हुन् ।
भुसाल डिसेम्बर अन्तिम साता कम्बोडियाका लागि उड्नेछन् । घरेलु तथा राष्ट्रिय प्रतियोगितामा आफूलाई निखार्दै आएका भुसालले पूर्वकप्तान पारस खड्काको खेलबाट आफूलाई हौसला मिलेको बताए । भुसाल अलराउन्डर हुन् । कम्बोडियन लिगका लागि छनोट भएका भुसाललाई ई–प्लानेट कन्सल्टेन्सीले मुख्य प्रायोजन गरी सहयोग गरेको छ । सैनामैना नगरपालिकाले पुरस्कार र हौसलास्वरुप ३० हजार रुपैयाँ प्रदान गरेको छ ।
वि.सं. ०५८ सालमा रूपन्देहीको सैनामैना नगरपालिका–८, रामापुरमा जन्मिएका विशाला सानैदेखि क्रिकेटप्रति रुचि राख्थे । ‘एसईईपछि क्रिकेटकै लागि न्यु होराइजनमा अध्ययन गरें,’ उनले भने, ‘कलेजमा थप प्रशिक्षण लिने र खेल्ने मौका मिल्यो ।’
न्यु होराइजनमा छँदा शक्ति गौचनबाट प्रशिक्षण लिए । उनले रूपन्देहीको खुकुरी कप, सुपर लिग, काठमाडौंको नेक्सस कप, भारतको सिलिगढी प्रिमियर लिगलगायत दर्जनौं प्रतियोगितामा आफ्नो खेल कौशल देखाइसकेका छन् । ‘६ वर्षदेखि व्यावसायिक रूपमा क्रिकेट खेलिरहेको छु,’ उनले भने, ‘जीवनको एउटै सपना र धोको राष्ट्रिय टिममा पर्ने छ ।’
Source : Online Khabar