लन्डन — युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई यूकेसँगको यात्रामा उनीहरूले लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर ईयू (युरोपेली संघ) का सदस्य राष्ट्रहरुले बेलायतमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।

युरोपेली युनियनअन्तर्गतका मुलुकले प्रवेशमा रोक लगाएपछि एम २० मोटरवेमा देखिएको ट्रकको लस्कर तस्बिर : रोयटर्स
ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूको एउटा बैठकअघि आयोगले पछिल्लो सिफारिस गरेको हो । सदस्य राष्ट्रहरूले त्यो मान्नैपर्ने बाध्यता भने छैन । सीमा नियन्त्रणसम्बन्धी नीति अपनाउन स्वतन्त्र भएकोले सदस्य राष्ट्रहरूले आफ्नो कदमलाई निरन्तरता पनि दिन सक्छन् ।
गत साताको अन्त्यतिर फ्रान्सले बेलायतसँग जोडिएका सीमा बन्द गरेका कारण दुई देशबीच सामान ओसारपसार गर्ने हजारौं लरीहरू सीमाक्षेत्रमा अलपत्र परेका थिए । ईयूका लगभग सबै सदस्य राष्ट्रले बेलायतबाट हुने यात्रामा प्रतिबन्ध लगाइसकेका छन् ।
कोरोना भाइरस परीक्षण गराउने वा फर्केर एकान्तवासमा जाने प्रतिबद्धता जनाउने नागरिकलाई आआफ्नो देश फर्कन दिन ईयूका सदस्य राष्ट्रलाई युरोपेली आयोगले एक विज्ञप्तिमार्फत आग्रह गरेको हो । तर अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा गर्न चाहनेहरुलाई निरुत्साहित गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।
ईयूभित्र यातायात क्षेत्रमा काम गर्नेहरुको हकमा यात्रा प्रतिबन्ध र अनिवार्य परीक्षणको व्यवस्था गर्न नहुने आयोगको भनाइ छ । बेलायतबाट फ्रान्स र ईयूका अन्य सदस्य राष्ट्र जानका लागि चाहिं कोरोना भाइरस परीक्षण गराएको हुनुपर्ने उसको भनाइ छ ।
नयाँ प्रकारको कोरोना भाइरस पत्ता लागेसँगै बेलायतमाथि युरोपेली देशसहित विश्वका ५० भन्दा बढी मुलुकले यात्रा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले बेलायत र केही अरू देशमा पछिल्लो १४ दिनदेखि बस्दै आएका गैरअमेरिकी नागरिकमाथि प्रवेशमा रोक लगाएको छ ।
कुबेत, ओमान र साउदी अरबले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सीमाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन् । डेनमार्क, इटाली, नेदरल्यान्ड्स र अस्ट्रेलियामा पनि कोरोना भाइरसको नयाँ प्रकार फेला परेको जनाइएको छ ।
पारवहन सहज पार्ने सहमति
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फैलिएको भन्दै फ्रान्स र बेलायतबीच अन्तर–सीमा यात्रामाथि बेलायतले लगाएको अवरोध हटाउन दुवै देशबीच बुधबार सहमति भएको छ ।
बेलायतको आपूर्ति व्यवस्थामै खलल पर्न लागेको अवस्थामा बेलायतले ४८ घण्टादेखि जारी अन्तर–सीमा यात्रा खुकुलो बनाउन लागिएको हो । बेलायतमा कोभिड–१९ को नयाँ स्वरूपमा परिणत भएको र यो कोरोनाभाइरसभन्दा बढी संक्रामक रहेको तथ्य बाहिरीसँगै अधिकांश युरोपेली मुलुकहरुले बेलायतीहरुको यात्रा र सामान आपूर्तिमाथि रोक लगाएका थिए ।
मंगलबार डोभरमा सयौं मालवाहक ट्रकहरुको ताँती देखिएको थियो । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछिको अवस्थामा बेलायतमाथि आइपर्ने संकटको आकलन गर्न जुझिरहेका प्रधानमन्त्री बोरिस जोन्सनमाथि पछिल्लो घटनाले थप चिन्तित बनाएको छ ।
बेलायती यातायात मन्त्री ग्रान्ट साप्सले मंगलबार साँझ बेलायत र फ्रान्सबीच पारवहनको मामिलामा उत्पन्न समस्या सुल्झाउन सहमति भएको घोषणा गरेका थिए । तर उनले दक्षिणी केन्ट काउन्टीतर्फ मालबाहक ट्रकहरु नलैजान चालकहरुलाई आग्रह गरेका छन् ।
फ्रान्सेली यातायात मन्त्री जां–बाप्टिस्ट जेबारीले पनि हवाई यात्रा, डुंगा र युरो स्टार रेल केही समयमै सुरु हुने जनाए ।
Source : Kantipur