बेइजिङ — चीन सरकारले सिनोफार्म कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । सिनोफार्मका अनुसार यो खोप कोरोना भाइरसविरुद्ध ७९ प्रतिशत प्रभावकारी पुष्टि भएको छ ।

तस्बिर : रोयटर्स
यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोरोनाविरुद्धको खोप आपत्कालीन प्रयोगअन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको जनाइएको छ । खोप दिइएकाहरूमा खास गरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
सिनोफार्मले बुधबार आफूले विकास गरेको खोप ७९.३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो । पश्चिमा मुलुकका फर्मास्युटिकल कम्पनीहरू फाइजर र मोडर्नाले विकास गरेका खोपहरू क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको छ । चिनियाँ स्वास्थ्य प्रशासनका उपआयुक्त चेन सिफीले संवाददाताहरूसँग कुरा गर्दै सिनोफार्मको खोपलाई ‘ससर्त’ अनुमति दिइएको बताए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।
बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीन सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोप देशभित्रै उत्पादन गरिने बताउँदै आएको छ ।
Source : Kantipur