११ माघ, कलैया । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।
करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले मध्यावधि निर्वाचनले जनगणना प्रभावित नहुने बताए । उनले जनगणनाका लागि चार अर्ब बजेट आएको र त्यसमध्ये दुई अर्ब चालु आर्थिक वर्षमा र बाँकी दुई अर्ब पछि खर्च हुने जानकारी दिए ।