२६ भदौ, कलैया ।
लन्डन — विश्वको सबैभन्दा लोकप्रिय लिग हो, इंग्लिस प्रिमियर लिग (ईपीएल) । यो लिगको नयाँ सिजन शनिबार सुरू हुँदै छ । तय छ, सबैको ध्यान अब यही ईपीएलप्रति केन्द्रित हुनेछ । तर कोराना भाइरसको महामारीको प्रभावका कारण यसपल्टको लिग यसअघिका संस्करणभन्दा फरक हुनेछ ।

यसमा एकातर्फ चर्को प्रतिस्पर्धा हुने छ नै, त्यसमाथि सहभागी सबै क्लबले कम अन्तरमा धेरै खेल खेल्नुपर्नेछ । बेलायती समाचार संस्था रोयटर्सले यसपल्टको ईपीएलबारे तयार पारेको रिपोर्ट :
सन् २०२०–०२१ को इंग्लिस प्रिमियर लिग (ईपीएल) सिजन सामान्य हुँदो हो त अहिलेसम्म चार चरणका खेल सकिनुपर्थ्यो । युरो २०२० पनि सकिसकेको हुन्थ्यो अनि प्रि–सिजनको तयारीका रूपमा ठूला क्लब अमेरिका पुगिसकेका हुन्थे । अनि खेलाडी ‘ट्रान्सफर’ को उतारचढाव पनि पूरा भइसक्थ्यो । तर मुख्य कुरा यो सिजनको फुटबल साधारण छैन र यसमा बेस्सरी कोरोना भाइरस प्रभावको प्रतिफल रहनेछ । त्यसैले त च्याम्पियन्स लिग फाइनल सकिएको एक सातामै कम्युनिटी सिल्ड भइहाल्यो ।
शनिबारदेखि सुरु हुँदै छ यसपल्टको लिग । यो पनि युरोपेली फुटबलमा आफ्नो देशका लागि खेलेर फर्केको केही घण्टामै । यी स्टार खेलाडीहरूले यो सिजनको बीच बीचमा बिरलै मात्र आराम पाउने छन् । तय कार्यक्रमअनुसार नै खेल भयो भने यसपल्टको सिजन सन् २०२१ को मे २३ सम्म सकिनुपर्नेछ, एक वर्ष पछाडि सारिएको युरो २०२० का लागि । त्यस मितिको तीन सातापछि त युरो सुरु भइसक्नेछ । त्यसको अर्थ ३८ चरणका खेल केही महिनामै सकिने छन् ।
त्यसैले सबै क्लबका व्यवस्थापकको एउटै मात्र गुनासो हुनेछ लगातारको खेललाई लिएर । खेल पदाधिकारी भने सकेसम्म सबैलाई आराम होस् भनेर व्यवस्था गर्न तल्लीन हुनेछन् । त्यसैले त एफए कपमा ‘रिप्ले’ हुने छैन अनि लिग कपका सेमिफाइनल एकै खेलमा सकिने छ, दुई लेगमा खेलिने छैन । जस्तै भए पनि कप र अन्तर्राष्ट्रिय खेलका लागि त समय चाहियो नै, त्यसैले पूरा सिजन मध्यसाता पनि लगातार खेल हुनेछ । सबैभन्दा गाह्रो त टोटेनहमलाई हुनसक्छ ।
टोटेनहमले सेप्टेम्बर र अक्टोबरबीच २० दिनमा आठ खेल खेल्नुपर्नेछ । यस्तोमा जोसे मोउरिन्होले टोटेनहमको दुई टिम बनाउनुपर्ने स्थिति आउन सक्छ । च्याम्पियन्स लिग र युरोपा लिगमा व्यस्त रहेकाले दुई म्यानचेस्टर क्लबले लिगको पहिलो साता खेल्ने छैनन् । तर यस्तो आराम लिग सुरु भइसकेपछि न सिटीले पाउने छ न त युनाइटेडले । सिटी यसपल्ट च्याम्पियन्स लिगको फाइनल पुगे उसले बढीमा ६३ खेल खेल्नुपर्नेछ ।
यस्तोमा यसपल्टको लिगमा त्यही टिम बलियो हुनेछ, जोसँग धेरै खेलाडी छन्, जसको आधार तगडा छ । यसको अर्थ फेरि एकपल्ट लिभरपुल र सिटी जस्ता टिम बलियो देखिने छन् वा चेल्सी र युनाइटेड ।
जर्मन क्लब बायर्न म्युनिकले पछिल्लो सिजन तीन उपाधि जितेको थियो, तर जम्माजम्मी ५२ खेल खेलेको थियो । लगातारको खेलमा अर्थ, त्यसैले पनि यसपल्टको उपाधि होड दुई टिममै केन्द्रित हुन सक्नेछ, लिभरपुलविरुद्ध म्यानचेस्टर सिटी । अनि फेब्रुअरीभित्रमै विजेता टिमको रूपरेखा देखिसक्नेछ ।
आर्सनल । व्यवस्थापक : मिकेल आर्टेटा
डिसेम्बरमा उनाइ इमरी बर्खास्तगीमा परे । उनको स्थानमा आए मिकेल आर्टेटा । उनको आगमनपछि क्लबमा सुधार आएको देखिन्छ । यसैक्रममा एफए कप उपाधि जित्न आर्सनलले चेल्सीलाई हरायो । भर्खर कम्युनिटी सिल्डमा पनि उसले लिभरपुललाई हराएको छ । यसले टिममा उत्साह छ ।
तर गत सिजन २२ गोल गरेका स्ट्राइकर पिएरे एमरिक अबामेयाङले क्लबसँग नयाँ अनुबन्ध गरेका छैनन् । यसपल्ट मेसुट ओजिलको प्रदर्शन कस्तो हुने हो, त्यसमा टिमको प्रदर्शन निर्भर हुनेछ । यसपल्ट आर्सनलको मुख्य लक्ष्य शीर्ष चार नै रहनेछ, तर आर्सनलसँग च्याम्पियन्स लिगमा फर्कन सक्ने टिम छ वा छैन, त्यसमा शंका पक्कै छ ।
एस्टन भिल्ला । व्यवस्थापक : डिन स्मिथ
गत सिजन लिगको अन्तिम दिन मात्र एस्टन भिल्लाको प्रिमियर लिग हैसियत जोगिएको थियो । यसपल्ट पनि अक्टोबर ५ को अन्तिम ट्रान्सफरको दिनअघि सम्म क्लबले कोही राम्रा खेलाडी भित्र्याउन सकेन भने टिमले रेलिगेसनबाट बच्न संघर्ष नै गर्नुपर्नेछ ।
व्यवस्थापक डिन स्मिथले अपेक्षा गर्नेछन्, गोलरक्षक टिम हेटन चोटमुक्त हुँदै चाँडै टिममा फर्कोस् भनेर । तर सबैभन्दा मुख्य प्रश्न के हो भने प्रमुख खेलाडी तथा क्रिएटिभ मिडफिल्डर ज्याक ग्रेलिस एस्टन भिल्लामै रहने छन् वा अन्यत्र कतै जाने छन् ? यसपल्ट पनि भिल्लाको मुख्य काम भनेको रेलिगेसनबाट जोगिन संघर्ष गर्नु हुनेछ ।
ब्राइटन । व्यवस्थापक : ग्राहम पोटर
ब्राइटनसँग खासमा धेरै खेलाडीको त्यस्तो टिम छ, जसलाई अनुभवी भन्न मिल्छ । त्यसमाथि लिभरपुलका एडम लालाना पनि त्यसमा थपिएका छन् । उनमा केही गरेर देखाउने जोस हुनेछ । टिमका लागि सबैभन्दा मुख्य खेलाडी निल मउपेय हुनेछन्, उनले गत सिजन १० गोल गरेका थिए । सन् २०१७ मा प्रिमियर लिग उक्लेयता ब्राइटनले १५ औं स्थानभन्दा माथि आफूलाई उभ्याएको छैन । त्यसैले यो सिजन ब्राइटनले त्यो भन्दा माथिको स्थान कब्जा गर्न सक्यो भने त्यो सफलता नै हुनेछ । गत सिजन पनि रेलिगेसनबाट बच्न संघर्ष गरेको ब्राइटनका लागि यो सिजन खासै अपवाद हुन छैन, उसको संघर्ष जारी रहनेछ ।
बर्नली । व्यवस्थापक : सिन डेची
बर्नलीका लागि गत सिजन सुखद रह्यो, लिगको दोस्रो भागमा राम्रो प्रदर्शन गरेर बर्नली १० औं स्थानमा रह्यो । यो क्लबको इतिहासमा माथिल्लो डिभिजनमा दोस्रो राम्रो प्रदर्शन थियो । यसपल्टका लागि बर्नलीले टिममा खासै परिवर्तन गरेको छैन र कोही नयाँ खेलाडी भित्र्याएको छैन, त्यसैले यो सिजन उसका लागि गाह्रो हुनसक्छ । बर्नलीसँग अझै पनि गोलरक्षक निक पोप, डिफेन्डर जेम्स टार्कोवस्की र विंगर ड्वायट म्याकनेल छन्, तर टिमको मध्यपंक्तिमा केही कमजोरी देखिन्छ । यही कारण समय समयमा रक्षापंक्तिमा पनि समस्या आउने गर्छ । व्यवस्थापक सिन डेचीले पनि क्लबमा पर्याप्त लगानी नभएकोमा चिन्ता पोखेका छन् । यो गम्भीर विषय हुनसक्छ ।
चेल्सी । व्यवस्थापक : फ्रान्क लाम्पार्ड
इंग्लिस फुटबलका ६ ठूला क्लबमध्ये खेलाडी ‘ट्रान्सफर’ मा सबैभन्दा बढी ब्यस्त चेल्सी नै रह्यो । चेल्सीले सक्दो खेलाडी किनेको छ । यसक्रममा उपाधिका लागि बलियो दाबेदार बनेको छ । जर्मन स्ट्राइकर टिमो वार्नर आएयता क्लबमा त्यो विशेषता थपिएको छ, जन गत सिजन कमी देखिएको थियो ।
चेल्सीका नयाँ अनुबन्धित खेलाडी बेन चिनवेल
उनी उच्चकोटीका खेलाडी हुन् । व्यवस्थापक फ्रान्क लाम्पार्डले ३५ वर्षीय ब्राजिली खेलाडी थिएगो सिल्भा अनुबन्ध गरेर टिमको रक्षापंक्तिलाई अनुभवी र बलियो बनाएका छन् । गत सिजन लिगको चौथो स्थानमा आएको चेल्सीको उद्देश्य पक्कै पनि यो स्थितिमा सुधार गर्नु हुनेछ । उसले यसपल्ट युरोपमा पनि बलियो चुनौती पेस गर्न सक्नेछ ।
क्रिस्टल प्यालेस । व्यवस्थापक : रोय हडसन
क्रिस्टल प्यालेस गत सिजन जस्तो थियो, यसपल्ट पनि उस्तै छ । क्लब लगभग विंगर विलफ्रेड जाहाले छाड्ने छन् वा छैनन्, त्यसमै बढी रुमलिएको देखिएको थियो । अहिलेसम्म उनीबारे कुनै ठोस निर्णय आएको छैन । एक प्रकारले रोय हडसनसँग बलियो मान्न मिल्ने टिम छ । यो टिमले गत सिजन नै अझै राम्रो गर्नुपर्ने थियो, तर १४औं स्थानमा रह्यो । लिगमा राम्रो सुरुआत लिएर पनि अन्त्यतिर प्यालेसले कमजोर प्रदर्शन गर्दै लगातार खेल गुमाएको थियो । यस सिजनका लागि भनेर क्यूपीआरबाट एबरेची एज आएका छन् र यसले टिममा उत्साह बढेको हुनुपर्नेछ । यसपल्ट पनि प्यालेस मज्जाले अंक तालिकाको मध्यभागमा बस्न सक्ने टिम हो ।
एभरटन । व्यवस्थापक : कार्लो एन्सेलोट्टी
गत सिजन एभरटनका लागि सुखद रहेन, त्यो अर्थमा एन्सेलोट्टीले राम्रोसँग बुझेका छन्, क्लबका सुधार्नुपर्ने स्थान अझै धेरै छन् । एन्सेलोट्टीको उद्देश्य क्लबलाई शीर्ष ६ स्थानका लागि प्रत्याशी बनाउनु हो । त्यसैले उनले ‘ट्रान्सफर’ बजारमा राम्रै ध्यान दिइरहेका छन् । उनी टिमलाई प्राविधिक रूपमा बलियो बनाउन चाहन्छन् । तर पनि वर्तमान टिम नै कति राम्रो छ भने यसले युरोपा लिगका लागि टोटेनहम र आर्सनललाई बलियो चुनौती दिन सक्छ । एभरटन बर्नली र साउथह्याम्पटनको पछाडि रहन क्लब नै होइन । टिम अझै महँगो छ र यसलाई रोनाल्ड कोमन र मार्को सिल्भाले चलायनमन बनाउन सकेन । यही नै एन्सेलोट्टीको मुख्य काम हुनेछ ।
फुलहम । व्यवस्थापक : स्कट पार्कर
दुई वर्षअगाडि फुलहमले प्रिमियर लिगमा बढुवा पाएयता १३ करोड डलरभन्दा बढी खर्चेको थियो, तर टिमले कत्ति पनि राम्रो खेल्न सकेन र फेरि च्याम्पियनसिपमै फर्केको थियो । यो लन्डन क्लबका लागि निकै निराशाजनक स्थिति रहेको थियो । यसपल्ट फुलहमले यस्तो भुल दोहोर्याउने कुनै संकेत दिएको छैन र टिमलाई बलियो बनाउन खासै खर्च गरेको छैन । तर फुलहमका लागि यो सिजन प्रिमियर लिगमै टिकिरहन समस्या हुनसक्छ । सम्भवतः फुलहमले यो सिजन टिमले धेरै राम्रो गर्नेछ भनेर अपेक्षा पनि गरेको छैन र रेलिगेसनबाट बच्न नै संघर्ष गर्नेछ । तर स्थिति उसको अनुकूल देखिन्न ।
लिड्स युनाइटेड । व्यवस्थापक : मार्सेलो बिएल्सा
लामो न लामो इतिहास बोकेको लिड्स युनाइटेड १६ वर्षको अन्तरपछि प्रिमियर लिगमा फर्केको छ । यति लामो समयबीच क्लबमा धेरै परिवर्तन भने भएको छैन, तर स्वरूपमा भने पक्कै धेरै फेरबदल छ । जस्तो क्लबका मालिक इटालीका हुन् भने व्यवस्थापक अर्जेन्टिनाका । एलान रोड क्लबले यस सिजनलाई भनेर स्पेनबाट रोडरिगो भित्र्याइसकेको छ । यी स्पेनी अन्तर्राष्ट्रिय खेलाडी लिड्सका लागि निर्णायक साबित हुन सक्छन् । गत सिजन सेफिल्ड युनाइटेडको सफलताले त्यही योर्कसायर क्षेत्रको लिड्सका लागि प्रेरणा बनेको छ । माथिल्लो डिभिजनमा आफ्नो क्लबले खेल्ने भएपछि यसका समर्थक पनि निश्चित रूपमा उत्साही छन् ।
लेस्टर सिटी । व्यवस्थापक : ब्रेन्डन रोजर्स
गत सिजन लिगको अन्त्यतिर लेस्टर सिटीले निकै खराब खेल्यो र लगातार दबाबमा रह्यो । एक समय लिग उपाधिको होडमा रहेको लेस्टरले लिगका अन्तिम १७ खेलमध्ये खाली चारमा मात्र जित निकाल्न सकेको थियो । त्यसै कारण टिम शीर्ष चारमा रहेन र पाँचौं स्थानमा रह्यो । यसपल्ट लेस्टरलाई यही स्थानमा कायम राख्न पनि गाह्रो हुने निश्चित छ । गत सिजन सर्वाधिक गोलकर्ता रहेको जेमी भार्डी र जेम्स म्याडिसन यसपल्ट पनि टिममा छन्, यो नै लेस्टरका लागि एकमात्र खुसीको कुरा हो । तर पनि ब्रेन्डन रोजर्सको टिममा ठोस स्तरको कमी देखिन्छ । त्यसैले यसपल्ट कमजोर सुरुआत लियो भने लेस्टर समस्यामा पर्नसक्छ ।
लिभरपुल । व्यवस्थापक : योर्गन क्लोप
पछिल्लो सिजनमा लिभरपुलको एकछत्र राज भयो भन्दा हुन्छ । लिभरपुलले ३० वर्षयता पहिलोपल्ट लिग जितेको थियो र क्लबले लगभग यही विजयी टिमलाई यसपल्ट पनि दोहोर्याएको छ । त्यसो भनेको क्लबले लिग विजेता खेलाडीलाई नै विश्वास गरेको छ ।
योर्गन क्लोप
अहिलेको टिम कमजोर हुनेछ भनेर दाबी गरिहाल्ने ठाउँ भने छैन । तर खेलाडी चोटग्रस्त भएमा समस्या हुनसक्छ । साल्सबर्गबाट गत जनवरीमा आएका जापानी खेलाडी ताकुमी मिनामिनोसँग अब क्लबमा स्थापित हुने अवसर हुनेछ । उनको आगमनले अगाडि विविधता हुनेछ, सम्भवतः रोबर्टो फिर्मिनोलाई बढी आराम दिन सकिनेछ । टिम बलियो रहेको स्थितिमा लिभरपुल फेरि एकपल्ट लिग उपाधिको बलियो दाबेदार रहनेछ ।
म्यानचेस्टर सिटी । व्यवस्थापक : पेप ग्वार्डिओला
यो सिजन पेप ग्वार्डिओलाले साँचेको लक्ष्य स्पष्ट छ, फेरि एकपल्ट लिभरपुलको भन्दा राम्रो खेल्ने । घरेलु फुटबलमा लिभरपुललाई पछाडि छाड्ने अनि यसै क्रममा युरोपेली च्याम्पियनस लिग उपाधि जित्न खोज्ने । गत सिजन सिटीका लागि युरोपेली फुटबल निराशाजनक रह्यो भन्दा हुन्छ ।
पेप ग्वार्डिओला
यसपल्ट म्यानचेस्टर सिटीमा मिडफिल्डका डेविड सिल्भा हुने छैनन् । उनको अनुपस्थिति घाटा नै हुनेछ । गत सिजन सिल्भाले नेतृत्वकारी भूमिका खेलेका थिए, जुन यसपल्ट अभाव हुनसक्छ । यसपल्ट दुई खेलाडी फिल फोडेन र बर्नार्डो सिल्भा परिपक्व रूपमा प्रस्तुत हुनु आवश्यक छ ।
म्यानचेस्टर युनाइटेड । व्यवस्थापक : ओले गनर सोल्सायर
पछिल्लो सिजन म्यानचेस्टर युनाइटेडले प्रगति गरेको छ । यस्तो भन्दा कसैलाई आपत्ति हुने छैन । विशेषतः कप प्रतियोगितामा म्यानचेस्टरको प्रदर्शन अपेक्षाभन्दा राम्रो रह्यो, तर क्लबलाई अझै पनि लिग उपाधिका लागि तयार रहेको भने मान्न सकिन्न ।
ओले गनर सायर
तर म्यानचेस्टरले लिरभपुल र सिटीको सकेसम्म नजिक पुग्ने प्रयास गर्नुपर्नेछ । यो सिजनको ‘ट्रान्सफर विन्डो’ बन्द हुनुअगाडिसम्म कोही राम्रो स्टार भित्र्याउन म्यानचेस्टर सफल हुनुपर्नेछ ।
म्यानचेस्टरका खेलाडी डिन हेन्डरसन
क्लबको सेन्ट्रल डिफेन्स सबैभन्दा कमजोर छ । कोही नयाँ त्यस स्थानमा आएन भने म्यानचेस्टर फेरि लिगमा कमजोर साबित हुन सक्नेछ र समर्थकलाई फेरि निराश हुनुपर्नेछ ।
न्युकासल युनाइटेड । व्यवस्थापक : स्टिभ ब्रुस
गत सिजन सबैको ध्यान लिगमा न्युकासल युनाइटेडको प्रदर्शन कस्तो रह्यो भन्दा पनि क्लबका नयाँ मालिक को हुने हो त्यसमा रह्यो । साउदी अरेबियाका व्यावसायिक संस्थाले क्लब किन्ने संघारमा पुगेर पनि त्यो पूरा हुन सकेन । क्लब किनबेचको धेरै हल्ला त भयो, तर अन्त्यमा केही भएन । तर ट्रान्सफर बजारमा भने न्युकासल चलाख नै देखियो र उसले दुई नयाँ खेलाडी किनेको छ ।
गत वर्ष रेलिगेसन परेका टिम बर्नमाउथबाट । ती हुन्, क्यालुम विल्सन र रायन फ्रेजर । त्यसमाथि जेफ हेन्डरिकबिना कुनै मूल्य क्लबमा आएका छन् । न्युकासल समर्थकको अधिकांश समय माग छ, टिममा सक्दो बढी लगानी । यो पूरा भए या नभए पनि न्युकासल यसपल्ट पनि रेलिगेसनबाट बच्नेछ ।
सेफिल्ड युनाइटेड । व्यवस्थापक : क्रिस विल्डर
के पछिल्लो सिजनकै प्रदर्शन यसपल्ट पनि सेफिल्ड युनाइटेडमा दोहोरिने छ त ? गत सिजन इंग्लिस फुटबलको माथिल्लो सिजनमा फर्केयता ‘ब्लेड्स’ को प्रदर्शन अचम्मले राम्रो रह्यो । खासमा व्यवस्थापक क्रिस विल्डरको बानी नै छ, अनपेक्षित प्रदर्शन सम्भव पार्ने । सेफिल्डका
लागि सबैभन्दा चिन्ताको विषय गोलरक्षकमा हुनेछ, किनभने गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका डिन हेन्डरसन म्यानचेस्टर युनाइटेडमा फर्किसकेका छन् । उनको स्थान परिपूर्ति गर्न बर्नमाउथबाट आरोन राम्सडेल आइसकेका छन् । सिजन सुरु भइसक्दासम्म पनि क्लबलाई विश्वास छ, केही नयाँ अनुहार थपिनेछन् । तर गत सिजनको प्रदर्शन दोहोर्याउन गाह्रो छ, यसपल्ट ।
साउथह्याम्पटन । व्यवस्थापक : राल्फ हासेनहुटल
गत सिजन लिगमा खराब सुरुआतपछि भनिएको थियो, ‘सेन्ट्स’ को काम रेलिगेसनबाट जोगिने नै हुनेछ । यसैक्रममा साउथह्याम्पटन लेस्टरको हातबाट ९–० ले पराजित रह्यो । त्यो पनि घरमै । यो अहिलेसम्मकै पाहुना टिमको सबैभन्दा ठूलो अन्तरको जित हो । तर क्लबले अस्ट्रियन प्रशिक्षक हासेनहुटललाई बर्खास्त गरेन र अन्त्यमा त्यसले प्रतिफल पनि दियो ।
क्लबले अन्तिम २८ खेलमध्ये १३ मा जित निकालेको थियो । अंकतालिकाको मध्य भागमा रह्यो । ड्यानी इन्ग्स एक्लैले २२ गोल गरे । क्लब निकै आक्रामक भएर खेल्ने रणनीति टिममा स्थापित भइसकेको छ, त्यसैले फेरि एकपल्ट लिगको मध्यभाग क्लबको पहुँचमै रहनेछ ।
टोटेनहम । व्यवस्थापक : जोसे मोउरिन्हो
माउरिसियो पोचेटिनो बर्खास्तमा परेपछि नोभेम्बरमा टोटेनहममा जोसे मोउरिन्हो आए । उनको नेतृत्वमा क्लब एक प्रकारको पुनरुत्थान हुन सक्यो । यसैक्रममा क्लबले युरोपा लिगको यात्रा निश्चित गरेको थियो । यसपल्ट क्लबलाई लिएर सबैभन्दा ठूलो समस्या हो, टोटेनहम शीर्ष चारका लागि योग्य देखिन्न, त्यसैले
उसले फेरि एकपल्ट युरोपेली च्याम्पियनस लिग खेल्ने सम्भावना कम नै छ । मोउरिन्होले अधिकांश समय महँगा खेलाडी किनेर टिम बनाएको इतिहास छ, तर टोटेनहममा उनलाई यो छुट छैन । त्यसैले उनले कम बजेटमै काम चलाउनुपर्नेछ । यस्तोमा कुनै उपाधि जित्ने सम्भावना कमजोर नै छ ।
वेस्ट ब्रुम । व्यवस्थापक : स्लेभन विलिच
दुई वर्षको अन्तरपछि वेस्ट ब्रुम फेरि एकपल्ट इंग्लिस प्रिमियर लिगमा फर्केको छ । दोस्रो डिभिजनमा उसले राम्रो सुरुआत लिएपनि पछि संघर्ष गर्नुपरेको थियो । आखिरमा दोस्रो स्थानमा रहेर क्लब बढुवा लिन सफल रह्यो । माथिल्लो डिभिजनमा उक्लेयता वेस्ट ब्रुमले ऋणमा आएका विंगर गाडी डिएनगाना र म्यानिस परेराको अनुबन्ध स्थायी गरिसकेको छ ।
तर च्याम्पियनसिपमा खेलेको टिममा यसपल्ट पनि खासै परिवर्तन छैन । सन् २०१७ मा व्यवस्थापक स्लेभन विचिल वेस्ट ह्यामबाट बर्खास्तमा परेयता उनी प्रिमियर लिगमा आफ्नो उपस्थिति देखाउन चाहन्छन् । तर वेस्ट ब्रुमका लागि रेलिगेसनबाट जोगिनु सजिलो हुने छैन, अहिलेको टिमको मदतबाट ।
वेस्ट ह्याम । व्यवस्थापक : डेविड मोयस
वेस्ट ह्यामसँग गत सिजन जुन टिम थियो, त्यसैले रेलिगेसनबाट बच्न पूरा सिजन संघर्ष गरेको तथ्यले सबैलाई अचम्ममा पार्ने गर्छ । म्यानुयल पिलेग्रिनीको बर्खास्तीपछि डेविड मोयस आएका छन् । उनको आगमनले क्लबको भाग्य पनि फेरिएको छ । यो लन्डन क्लबमा गत सिजन खेलाडीदेखि समर्थक सबैको सोच नै नकारात्मक रह्यो भन्दा हुन्छ ।
डेविड मोयस
यसपल्ट वेस्ट ह्यामले लिगमा राम्रो सुरुआत लिन सक्यो भने तय छ । यो क्लब ढुक्कले अंक तालिकाको मध्यभागमा रहनेछ । तर होइन, खराब सुरुआत भयो भने के तय छ भने यस सिजन वेस्ट ह्यामको ध्यान रेलिगेसनबाट बच्न नै केन्द्रित हुनेछ । त्यसैले एक अर्को संघर्षको सिजन पनि नकार्न सकिन्न ।
उल्भस । व्यवस्थापक : नुनो इस्पिरिटो सान्टो
दुई सिजनअगाडि उल्भस फेरि प्रिमियर लिगमा खेलेको थियो र त्यसको पहिलो सिजनमै क्लबले अपेक्षाभन्दा धेरै राम्रो गर्न सक्यो । गत सिजन त थप अझ राम्रो भयो र अंकतालिकाको माथिल्लो आधामै रहने क्लब साबित भयो । उल्भसका लागि गत सिजन निकै लामो पनि रह्यो किनभने उसले युरोपा लिगमा पनि आफ्नो चुनौती पेस गरेको थियो ।
क्लबले भर्खरै १८ वर्षका पोर्चुगाली स्ट्राइकर फाबियो सिल्भामा ४ करोड ५४ लाख डलर लगानी गरेको छ । यसमा धेरैले प्रश्न गरेका छन् । तर अहिलेको टिममै त्यस्ता धेरै खेलाडी छन्, जोसँग अनुभव छ अनि खेल स्तर । त्यसैले उल्भसले यसपल्ट पनि युरोपेली फुटबलका लागि खेल्नेछ ।
Source : Kantipur